कमाउन मलेसिया पुगेका पासाङकाे पीडाः काम गर्ने हात मेशिनले काट्यो

Loading...
Advertisement

क्वालालम्पुर । करिब अढाई वर्ष अगाडि मलेसियामा रोजगारीका लागि आएका पार्वती कुण्ड, रसुवाका पासाङ तामाङले गत वर्ष काम गर्दै गर्दा आफ्नो हात गुमाए । उनको हात मेसिनमा परेर काटिएको थियो ।

अहिले पनि उनी काम गरिरहेका छन्, एउटा हातको भरमा । यसबीचमा उनी नेपाल गए, विभिन्न निकायहरु धाएर १० लाख रुपैयाँ इन्स्योरेन्स (बिमा रकम) पाउने भए र, फेरि मलेसिया फर्किए । तर, यता काम गर्ने कम्पनीले उनको खातामा हालिदिएको बिमा रकम अर्कैले खाइसकेछ ।

Loading...

पासाङ आफ्नो कथा यसरी सुनाउँछन् :
रसुवाको पार्वती कुण्डमा सानो घर छ मेरो । चार दाजुभाइ र दुई दिदीवहिनीमध्येको जेठो छोरा हुँ । म सानो हुँदा गाउँमा कुनै स्कुल थिएन, न थियो कुनै सामाजिक चेतना । त्यही भएर पढ्न पाइनँ । पढाईलेखाई शून्य नै छ ।

निकै दुखमा हुर्किएँ । मिठोमसिनोको लागि चाडपर्व नै कुर्नु पर्दथ्थो । उमेर वढ्दै गएपछि गाउँमै वसेर केही होला जस्तो लागेन, किनभने गाउँमा कोही पनि युवा थिएनन् । विदेश पुगेर दुख गरेर भए पनि पैसा कमाएर घर र्फकनेहरुको लर्काे देख्दा मलाई पनि विदेश जाऊँ जाऊँ लाग्यो ।

यत्तिकैमा मेरै गाउँका युवाहरुलाई विदेश पठाउने धादिङका एक जना एजेन्टले मलाई पनि ‘भाइ ल अब मलेसिया जानुपर्छ’ भनेर विदेशका मिठा कुरा सुनाए । मलाई पनि चाहिएको यही थियो । उनले भनेको पैसा एक लाख ६० हजार नगद वुझाएर करिब अढाई वर्ष अगाडि मलेसियाको तेलुगोङ आमिनतुवामा रहेको ब्राइज्टस्टार स्टिल कम्पनीमा आइपुगेँ ।

एजेन्टले भने अनुसार नै काम पाएको हो । फलामको काम गर्नुपर्छ भन्थ्यो, त्यही काम पाइयो । तर तलब भने नेपालमा भनेकोजस्तो पाइएन । के-के हो के-केको पैसा कटाउने भएकाले सालाखाला ७ सय रिंगेट जति मात्र बचाउन सकिरहेको थिएँ । यति भए पनि ठिकै त छ नि भनेर चित्त बुझाएर बसेको थिएँ ।

एक वर्षअघिको कुरा हो । विहानको समयमा सबै काममा थिए । यो कम्पनीमा हामी ६५ जना जति छौं जसमध्ये नेपालीहरु १४ जना छौं । सबै साथीहरु आ-आफ्नै तालमा काम गरिरहेका थिए । त्यस्तै १० बजेतिर काम गर्दागर्दै मेसिनमा मेरो हात पर्‍यो । हेर्दाहेर्दै मेसिनले हात च्वाट्टै पारिदियो । वाहिरको मासुमा मात्र हात अडकिएको थियो । काम गरेको ठाउँमा रगतको आहाल भयो ।

कम्पनीले तत्काले सुवास अस्पतालमा पुर्‍यायो । म अस्पतालमा १९ दिन बसेँ । डाक्टरहरुले हात जोड्नलाई कोशिस गरे पनि सफल भएनन् । त्यसैले छिनाइदिए । अस्पतालमा लागेको सबै खर्च कम्पनीले नै ब्यहोर्‍यो ।

कमाउन आएको मान्छेको हातै नभएपछि के रह्यो र । मनभरी पीडा बोकेर अस्पतालबाट कम्पनीमा फर्किएँ । पहिला जस्तो काम गर्न नसक्ने भएपछि साह्रै दुख लाग्यो । सबै साथीहरुले निकै माया गरेर हौसला दिए र मन दह्रो बनाएर एउटा हातको भरमा काम गरेँ ।

मेरो यस्तो अवस्था भएको थाहा पाएपछि परिवार निकै आत्तिए । त्यसैले मैले नेपाल जाने सोचाई बनाएँ । नेपाल जानको लागि मैले कम्पनीसँग कुरा राखेँ । कम्पनीले नेपाल नपठाउने र यदि जाने नै भए दुई हजार रिंगेट बुझाउनुपर्ने बतायो । आफ्नो यो अवस्था थियो, कहाँबाट ल्याउनु पैसा । धन्न साथीहरुले पैसा उठाइदिएर कम्पनीमा जम्मा गरिदिए र मलाई नेपाल पठाए ।

सद्दे शरीर लिएर अनेक सपना बोकेर विदेशिएको म अपांग बनेर फर्किएँ । घरमा साना दुई छोरा र श्रीमती छन् । उनीहरु सबैजना मलाई देखेर रुन थाले । गाउँका साथीभाइले सहानुभूति दिए ।

नेपालमा मैले विदेश आउनुअगाडि इन्स्योरेन्स गरेको थिएँ । त्यसैले विभिन्न सरकारी निकायहरुमा पुगेर आफु दुर्घटनामा परेका कुरा सुनाएँ । आफूसँग भएका सबै प्रमाणहरु पेश गरेँ । त्यसपछि मैले साढे १० लाख रुपैया क्षतिपूर्ति प्राप्त गरेँ ।

नेपालको सबै प्रक्रिया पूरा गरेपछि फेरि मलेसियामै सोहि कम्पनीमा आइपुगेँ । सबैले नजानु भनेका थिए, तर मैले इन्स्योरेन्सको पैसा आउँछ र केही न केही काम पाइन्छ भनेर सम्झाएर हिँडे । नभन्दै मैले फोकलिप चलाउने काम पाएको छु ।

मलेसिया आइसकेपछि मैले इन्स्योरेन्सको पैसा कहाँ छ भनेर कम्पनीलाई सोधेँ । कम्पनी मालिकले ‘तिम्रो १७ हजार रिंगेट हालिदिइसकेको छ’ भनेर जवाफ दिए । तर मैले त्यो पैसा पाइनँ । भयो के भने मैले नेपाल जानुअगाडि केही ऋण लिएको थिएँ र त्यसवापत आफ्नो बैंक कार्ड नेपाली साथीलाई दिएको थिएँ । त्यो साथीसँग कम्पनीका एचआर म्यानेजरले एकै छिनमा दिन्छु भनेर कार्ड मागेछ । अनि कार्ड लगेर बैंकमा भएको पैसा निकालेछ र कार्ड फिर्ता गरिदिएछ ।

अहिले मैले मेरो पैसा खोइ भन्दा कम्पनी मालिकले बंैकमा हालिदिएको छ भन्छ । बैंक स्टेटमेन्टमा पनि देखिन्छ, तर एचआर म्यानेजरले निकालिदिएछ । अहिले त्यो म्यानेजरले कम्पनी छाडेर हिँडिसक्यो ।

मैले कम्पनी मालिकलाई अनुरोध गरेर त्यसलाई पत्ता लगाउन आग्रह गर्दा वास्ता गर्दैन । उसले काम गर्दाको कागजपत्रहरु कम्पनीमा होलान् । तर, मलाई उपलब्ध गराइएको छैन ।

म आफ्नो पैसा नउठाई कुनै पनि हालतमा छाड्दिनँ । मलेसियाको सवै निकायहरुमा पुग्छु । कसो न्याय नपाउँला ?

Loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार