किन हुन्छ निद्रामा गडबडी? – मानसिक रोग विशेषज्ञ डा. थापा

Advertisement

हामीमध्ये कतिलाई राम्रोसँग निद्रा पर्दैन। मनमा कुरा खेलिरहन्छ। कसैलाई धेरै समय सुत्नुपर्छ भने कसैलाई थोरै समय सुत्दा पनि निद्रा पुग्छ। राति छिटो निद्रा खुल्ने, निद्रा खुलेपछि फेरि निदाउन नसकिने समस्या पनि हुन्छ। कहिले रातभरि, दिनभरि सुत्ने, कहिले सुत्दै नसुत्ने बानी पनि धेरैको हुनसक्छ। लामो समय निद्रामा समस्या भयो वा राति पूरा समय निदाउन सकिएन भने समस्या हुनसक्छ।

लापरबाही गरेर पूरा समय नसुत्दा शारीरिक र मानसिक समस्या ल्याउन सक्छ। त्यसैले जुनसुकै समयमा पनि शरीरलाई आवश्यक पर्ने निद्रा पूरा गर्नुपर्छ।

हाम्रो शरीरमा विभिन्न अंग छन्। सबैको आफ्नै काम छन्। त्यसमध्ये मस्तिष्कको एउटा प्रमुख काम हो निद्रा। मानिसको वृत्तिविकासमा निद्राको भूमिका महत्वपूर्ण हुन्छ। उमेरअनुसार मानिसको सुत्नुपर्ने समय फरक हुन्छ। बच्चाहरु धेरै समय सुत्छन्। उमेर बढ्दै जाँदा निद्राको समय घट्दै जान्छ। सामान्यतयाः मानिसलाई ६ देखि ७ घण्टा सुत्नैपर्छ। रात्रिकालीन काम गर्ने मानिसहरु दिउँसो सुत्छन्। सामान्य अवस्थाबाहेक मानिस कम सुत्छ वा चाहिनेभन्दा बढी अवधि सुत्छ भने त्यसका विभिन्न कारण हुनसक्छन्।

निद्रा नलाग्नुका पनि विभिन्न कारण हुन्छन्
तनाव— अहिलेको व्यस्त समयमा मानिसलाई विभिन्न किसिमको तनाव हुन्छ। तनावका कारणले निद्रा नपर्ने हुन्छ। राति छटपटी हुने, मनमा धेरै कुरा खेल्ने, तर्सिने, सुतेको केही घन्टामै निद्रा खुल्ने, सपना राम्रो नदेखिने कारणले पनि निद्रा पर्दैन।

निद्रा नपर्नुको अर्को कारण एन्जाइटी डिसअर्डर हो, जसका कारण सुतेको बेला तर्सिने समस्या हुन्छ। जस्तोः भूकम्प गएपछि धेरैलाई फेरि भूकम्प आउँछ कि भनेर तर्सिने समस्या भएको थियो।
बच्चाहरु ठूलो मानिसभन्दा धेरै समय निदाउनुपर्छ। बच्चा राति र दिउँसो सुतेन, धेरै चकचक गर्‍यो वा आमाबाबुलाई धेरै सताउने भयो भने चिन्ता गर्नुपर्ने हुन्छ। सोच्नुपर्छ, केही समस्या छ कि भनेर।

कसैलाई डिप्रेसनका कारणले निद्रा पर्दैन। डिप्रेसनले जाँगर नचल्ने, ओछ्यानमा पल्टिरहन मन लाग्ने, बढी सुत्ने, आलस्य हुने लक्षण देखिन्छ। अल्कोहल सेवनका कारणले पनि निद्रामा असर पर्छ।

कसैलाई मेनिया भन्ने रोग छ भने उसलाई एक÷दुई घण्टाभन्दा धेरै निद्रा पर्दैन। तर, पनि बिहान उठ्दा उनीहरु फ्रेस नै देखिन्छन्, फूर्तिलो महसुस गर्छन्। यस्तो समस्या भएकाहरुमा ठूलोठूलो गफ गर्ने, धाक लगाउने, राति निद्रामा हिँडिरहने जस्ता लक्षण हुन्छन्।

निद्रा गडबडी भएमा देखिने समस्या
निद्रा गडबडी हुँदा मनोवैज्ञानिक र शारीरिक समस्या बढ्छ। निद्रामा गडबडी भएमा टाउको दुख्ने, बिहान फ्रेस अनुभव नहुने, दिनभर अल्छी लाग्ने, जीउ भारी भएर आउने, स्मरण शक्ति घट्दै जाने, कुनै पनि काममा एकाग्रपन नहुने, खान मन नलाग्ने, जस्ता समस्या देखिँदै जान्छन्। स्टे«स बढ्दै गएपछि दिमागले पनि नियमित काम गर्न सक्दैन।

हामीले देख्दै आएका छौँ, चाडबाडको समयमा कति मानिसहरु रातभर–दिनभर जुवातास खेल्ने, अल्कोहल खाने गर्छन्। रातभर नसुती तास खेल्दा समस्या निम्त्याउँछ। पर्वको समयमा हाम्रो शारीरिक अभ्यास गर्ने बानी हुँदैन। खानपानमा समेत सन्तुलन नहुने र लामो समय निद्रा नपुग्दा खराब नतिजा निम्तिन सक्छ।

लामो दूरीको यात्रा वा विदेश यात्रामा जाँदा समयमा फरक पर्छ। जसको कारण सुत्ने समयमा गडबडी आउँछ। कति मानिस बाहिरबाट आएकोले निद्रा लागेन भन्दै आउनुहुन्छ।

यो अवस्थालाई जेट ल्याग भनिन्छ। मोस्ट कमन स्लिप डिसअर्डर हो जेट ल्याग। यो समस्या एक÷दुई दिनपछि आफैँ ठिक भएर जान्छ। सधैँको भन्दा फरक स्थानमा जाँदा र सुत्ने समयमा परिवर्तन हुँदा यस्तो समस्या हुन्छ।

अरु मानसिक तनाव हुँदा पनि निद्रा नपर्ने हुन्छ। कसैलाई निद्रासम्बन्धी नै समस्या हुनसक्छ। जसलाई स्लिप डिसअर्डर भनिन्छ। यो धेरैथरीको हुन्छ। बिनातनाव, डिप्रेसन नभई निद्रासम्बन्धी मात्र समस्या पनि हुन्छ। कति मानिस न्द्रिा परेन भनेर अनेकथरी जाँच गरी निकै रुपैयाँ खर्च गर्छन्। तर, समस्या समाधान हुँदैन।

केही दिनअघि एकजना बिरामी आउनुभएको थियो। उहाँलाई दुई वर्षदेखि निद्रा नपर्ने समस्या रहेछ। लामो समय हुँदा किन जाँच गराउनु भएन भन्दा आफैं ठिक होला भनेर नआएको भन्नुभयो। पछिल्लो समय अन्य समस्या देखिन थालेपछि आउनुभएको रहेछ। उहाँलाई अन्य केही समस्या थिएन। निद्रासम्बन्धी नै समस्या थियो। निद्रासम्बन्धी समस्या भएकाहरुका लागि स्लिप हाइजिन मेन्टेन गर्न पनि सकिन्छ।

लामो समयदेखि निद्रा परेको छैन भने :
सुत्ने कोठाको, पर्दाको कलर परिवर्तन गर्ने, धेरै ब्राइट कलर नराख्ने,
बत्ति बालेर सुत्ने बानी छ भने निलो कलरको जिरो वाटको बल्व बाल्ने,
सुत्नुभन्दा आधा घन्टाअघि मनतातो पानीले नुहाउने,
साँझ ५ बजेपछि कफी नपिउने,
सकेसम्म राति अल्कोहल सेवन नगर्ने,
विद्यार्थीले ओछ्यानमा बसेर नपढ्ने,
झुपुझुपु निद्रा नलाग्दासम्म ओछ्यानमा नजाने,
रातिमा धेरै एक्साइटेट गेम, फिल्महरु नहेर्ने र
हल्का खाना खानेजस्ता उपाय गर्न सकिन्छ।

मकहाँ आउने कति बिरामीले भन्नुहुन्छ– डाक्टरसाप मलाई राति त निद्रा पर्छ तर दिउँसो सुत्नै सक्तिनँ। दिउँसो निदाउनुपर्छ नभए समस्या हो भन्ने उहाँहरुमा भम्र छ। सकभर दिउँसो त सुत्ने नै होइन। दिनभरि काम गर्ने, सक्रिय रहने हो। बिहानको खानापछि आराम गर्ने भन्दै सुतिहाल्ने पनि कतिको बानी हुन्छ। तर, कहिले पनि त्यसो गर्नुहुँदैन। यसरी दिउँसो सुत्दा मोटोपन हुने, खानेबित्तिकै सुत्दा ग्यास्ट्रिकको समस्या हुने हुन्छ।

तपार्इं एक/दुई दिन मात्र निद्रा नलाग्दैमा अस्पताल आइपुग्नु पर्दैन। लामो समयदेखि निद्रा परेको छैन, जसले नियमित प्रक्रियामा असर परेको छ, समस्या बढ्दै गएको छ भने एकपटक जाँच गराउनुपर्छ। नियमितभन्दा चाँडो निद्रा लाग्ने, छट्पटी हुने, निदाउन गाह्रो हुने वा निदाएपछि फेरि ब्युझिहाल्ने, रीस उठ्ने, टाउको दुख्ने र जीउ भारी हुने जस्ता समस्या भएमा चिकित्सकको सल्लाह लिँदा राम्रो हुन्छ।

-(मानसिक रोग विशेषज्ञ डा थापा रिदम न्यूरो साइक्याट्री हस्पिटल एन्ड रिसर्च सेन्टरका कार्यकारी निर्देशक हुन्।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार